असार २७ काठमाण्डौं ___निर्वाचन आयोगले दल दर्तामा कडाइ गरेको छ । पाँच सय सदस्यको नाम पेस गरेपछि दल दर्ता हुने गरेकोमा अब सबै सदस्यको सनाखत अनिवार्य गर्ने आयोगले निर्णय गरेको छ ।आगामी आर्थिक वर्षदेखि दलहरूलाई नियमन गर्न आयोगले पाँच सय सदस्यकै सनाखत गर्न लागेको हो । यसअघि दल दर्ता पाँच सय सदस्यको हस्ताक्षर बुझाए पुग्ने थियो । तर, एउटा दलको सदस्यले फेरि अर्को नयाँ दल दर्ता गर्दा सदस्य हुने गरेको सूचना आएपछि आयोगले सनाखतलाई अनिवार्य गर्न लागेको हो ।
‘पर्टी स्थापना गर्न पाँच सय सदस्य पुर्याउन एउटै व्यक्ति फरकफरक दलमा बस्ने गरेको रिपोर्ट आयो । एउटा दलको सदस्य दल त्याग नगरी नयाँ दर्ता गर्ने दलको सदस्य हुन सक्दैन । दललाई मर्यादित र व्यवस्थित गर्न लागेका हौँ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने । राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा ४ बमोजिम आयोगमा राजनीतिक दल दर्ता गर्न चाहने राजनीतिक दलले सोही ऐनको दफा ५ को उपदफा (१) को (घ) बमोजिम कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको विवरण पेस गर्नुपर्ने प्रावधान छ ।
प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने मतदाताहरूको विवरण मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई जाँच गरी सम्बन्धित मतदाताको विवरण रहेको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा सनाखत गराउने आयोगले निर्णय गरेको छ । ‘प्रतिबद्धता तथा उद्घोषणपत्र पेस गर्नुपर्नेमा उद्घोषणपत्रमा हस्ताक्षर गर्ने मतदाताहरूको नाम मतदाता नामावलीमा समावेश भए नभएको तथा अर्को कुनै दलको सदस्यता लिए नलिएको सम्बन्धमा आयोगको सूचना तथा प्रविधि शाखाले यकिन गरी रुजु गर्नुपर्नेछ,’ आयोगको निर्णयमा भनिएको छ ।
नाम रुजु गर्दा अर्को दलको सदस्य भएको पाइएमा हस्ताक्षर गर्ने मतदाताहरूको नाम कैफियतमा राख्ने र उसको सट्टा अर्को मतदाताको नाम पठाउन प्रस्तावित दललाई पत्राचार गर्ने आयोगले निर्णय गरेको छ । अब दल दर्ता गर्दा प्रस्तावित दलको सदस्य बन्न योग्य भएको स्वघोषणा गर्नुपर्ने निर्णय आयोगले गरेको छ । पाँच सय सदस्य विभिन्न जिल्लाको हुने भएकाले सनाखतका लागि आयोगमा उपस्थित हुन नसक्नेले प्रदेश वा जिल्लाबाट पनि सनाखत गराउन सक्ने प्रमुख आयुक्त थपलियाले बताए । ‘सदस्य विभिन्न जिल्लाको हुने भएकाले सही गरेर आएकोलाई सनाखत मानिएको थियो । अब केन्द्रीय कार्यालयमा आउन नसक्नेले जिल्लाबाट सनाखत गराउन सक्छन्,’ थपलियाले भने ।
रुजुका लागि मतदाताहरूले निर्वाचन आयोगमा उपस्थित हुन सक्ने मतदाताको हकमा आयोगमा र अन्यको हकमा सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई आयोगले तोकेको ढाँचा र समयमा सनाखत गरी हस्ताक्षर गर्नुपर्ने व्यवस्था आयोगले मिलाएको छ । सनाखत गराउँदा प्रत्येक मतदाताको नागरिकताको सक्कल प्रमाणपत्र र मतदाता परिचयपत्र मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई यकिन गरी सनाखत गराउन प्रदेश/जिल्ला निर्वाचन अधिकारीलाई आयोगले निर्देशन दिएको छ । प्रदेश र जिल्ला निर्वाचन कार्यालयले यसरी सनाखत गरेका मतदाताहरूको विवरण आयोगको राजनीतिक दल व्यवस्थापन शाखामा पठाउनुपर्ने हुन्छ ।