मीटरब्याजसम्बन्धी अध्यादेश प्रतिनिधिसभाको आगामी बैठकले पास गर्ने

असार २५ काठमाण्डौं ___ मीटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाको आगामी बैठकबाट पारित हुने भएको भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो । आजको बैठकमा विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीको सम्बोधनका कारण समय नपुगेपछि अर्को बैठकका लागि सारिएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेसँगै प्रतिनिधिसभामा रहेको अवरोध खुलेको र अब विधेयक पारित हुने मन्त्री शर्माले प्रस्ट पार्नुभयो । ‘आजको कार्यसूचीमा रहेका मीटरब्याजसम्बन्धी कानूनमात्रै होइन, अरु पनि कार्यसूचीहरू स्थगित गरिएको छ । मीटरब्याजसम्बन्धी विधेयकको हकमा अर्को बैठकमा पेश हुन्छ, र पास हुन्छ,’ उहाँले भन्नुभयो ।

मीटरब्याज पीडितहरूले महिनौँसम्म काठमाडौंका सडकमा धर्ना र संघर्ष गरेपछि सरकारले अध्यादेशमार्फत् कानून संशोधन गरी मीटरब्याजलाई अनुचित लेनदेनकारुपमा दण्डनीय हुने प्रबन्धसहित जाँचबुझ आयोगमार्फत् काम अघि बढाएको थियो । तर, अध्यादेशलाई प्रतिनिधिसभाबाट प्रतिस्थापन गर्ने विधेयक पेश गर्ने कार्यसूची रहेकै दिन प्रतिपक्षीहरुले संसद् अवरुद्ध पारेपछि सो अध्यादेश निष्क्रिय भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्