असारको मध्यमा रौतहटको जलाधार कार्यालयमा १० करोड रकमान्तर

अषाढ़ १६ रौतहट___ असारको मध्य भएसँगै रौतहटको भू तथा जलाधार व्यवस्थापन कार्यालयमा १० करोडभन्दा बढी रकम रकमान्तर गरिएको छ। आर्थिक वर्ष सकिन दुई साता मात्र बाँकी रहँदा यति धेरै रकम रकमान्तर गरिएको हो। यसअघि मधेश प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयको ५० करोडभन्दा बढी रकम रकमान्तर गरेको थियो। जसमध्ये यस कार्यालयमा मात्रै ४८ योजनाका लागि १० करोड ९० लाख रुपैयाँ रकमान्तर गरिएको हो।

अर्थ मन्त्रालयबाट थप योजनाका लागि गत असार ७ गते पत्र प्राप्त भएको भू तथा जलाधार व्यवस्थापन कार्यालय रौतहटका प्रमुख प्रविनकुमार सिंहले जानकारी दिए। कार्यालयका अनुसार ४८ योजनामध्ये सर्लाहीमा ४६ र रौतहटमा जम्मा दुईवटा मात्रै योजना रहेको छ। यस कार्यालयको कार्यक्षेत्र रौतहट, पर्सा, बारा र सर्लाही जिल्ला रहेको छ। ४ जिल्लाका ३२ प्रदेश निर्वाचन क्षेत्रमा काम गर्छ।

काम गर्नै नसकिने मध्य असारमा रकमान्तर गरिएको रकम खर्च हुनेमा शंका रहेको छ। कम समयमा बजेट दुरुपयोग गर्ने नियतले कार्यकर्ता र आफन्तबाट काम हुने संभावना बढेको सरोकारवालाको भनाई छ। सर्लाही निर्वाचन क्षेत्र २ (ख) मधेश प्रदेशका अर्थमन्त्री सन्जयकुमार यादवको निर्वाचन क्षेत्र हो। अर्थमन्त्री यादवले आफ्नै निर्वाचनका क्षेत्रका बरहथवा, बसबरिया, चक्रघट्टा र कविलासीमा मन्दिर, धर्मशाला, मस्जिद, महरानीजीको पर्खाल, ब्रह्मबाबाको पर्खाल, आश्रम निर्माण आदि शीर्षकमा बजेट रकमान्तर गरेको कार्यालयले जनाएको छ।

मधेश प्रदेश सरकार कार्य विभाजन नियमावली २०७९ विपरीत कार्यक्षेत्र नपर्ने शीर्षकमा समेत बजेट सम्बन्धित कार्यालयमा पठाइएको छ। कार्यालयमा बजेट आएको भए पनि काम समयभित्रै कसरी गर्ने भन्ने विषयमा छलफल नभएको सिंहले बताए। मधेशका अर्थमन्त्री यादवको निर्वाचन क्षेत्रमा मन्दिर र धर्मशाला निर्माणका लागि बजेट रकमान्तर गरिएको छ।मन्त्री यादवको दबाबका कारण अर्थ मन्त्रालयले रकमान्तर गरेको बजेटको विवरण भने गोप्य राखेको छ। मन्त्री यादवले आफ्नै निर्वाचन क्षेत्रमा ७ करोडभन्दा बढी बजेट पठाएको भए पनि प्राविधिक कारण देखाउँदै अर्थ मन्त्रालयले विवरण सार्वजनक गरेको छैन।

 

यहाँ कमेन्ट गर्नुहोस्