जेष्ठ १४ काठमाडौं___भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गको बेतौना विराटनगर सडक खण्डको समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।बिहीबार हुलाकी राजमार्गको मोरङ खण्डमा ठेकेदारले काम रोकेपछि संघीय सांसद, प्रदेश सभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले पत्रकार सम्मेलन गरेका थिए। लगतै मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी निर्माण कम्पनीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन्।
झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्ला कार्य क्षेत्र रहेको इटहरी योजना कार्यालयले ४४ किलोमिटर खण्डमा पाँच ठेक्का लगाई निर्माण कार्यलाई तीव्रता दिएको छ। जसमध्ये २० किलोमिटर कालोपत्रे भइसकेको छ। बेतौनादेखि विराटनगरसम्मको करिब १८ किलोमिटरमा सञ्चालित दुई ठेक्काको निर्माण कार्य करिब एक महिनादेखि ठप्प छ। निर्माणको काम ठप्प भएपछि जनप्रतिनिधिहरूले पत्रकार सम्मेलन गरेका हुन्।
एक महिनादेखि निर्माण कार्य रोकिएपछि आयोजनाको इटहरी कार्यालयले निर्माण पुनः सुरू गर्न निर्माण व्यावसायीलाई लिखित पत्राचार गरिसकेको छ। समयमा निर्माणको काम सक्नेगरी तत्काल काम नथाले निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका शर्त बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले चेतावनी दिएको छ।