रेशम चौधरीसहित १९ जनालाई माफी दिने राष्ट्रपतिको निर्णय

जेष्ठ १४ काठमाडौं___राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी दिएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा उनले उनीहरुमाथि लागेको कैद सजाय माफी दिएका हुन्। राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा उल्लेख गरेको हो। यो सँगै चौधरी अब रिहा हुनेछन्।

यस्तै ७ जना ज्येष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय माफी भएको छ। संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा ज्येष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो।दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ।

रेशम चौधरी २०७२ साल भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा ७ जना सुरक्षाकर्मी र एक नाबालकसहित ८ जनाको मृत्यु भएको घटनामा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। उनलाई तीनै तहको अदालतले जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्