रेशम चौधरीलाई आम माफी दिन लागेपछि पीडित परिवार सर्वोच्च पुगे

जेष्ठ १४ काठमाडौं___ टीकापुर घटनामा जन्मकैदको सजाय ठहर भएका रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन सरकारले आम माफी दिन लागेपछि उक्त घटनामा पीडित भएको परिवार सर्वोच्च पुगेको छ। पीडितमध्येकी एक प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायत बोहोराले आइतबार सर्वोच्चमा रिट निवेदन पेस गरेकी छन्। उनको रिट अध्ययनकै क्रममा रहेकाले दर्ता नभएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेपछि उनले उक्त कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेकी हुन्। यसअघि उनले राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन्। उनले आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान लिनेगरी भएको टीकापुर घटना नेपाली समाजमा घटेको एउटा अकल्पनीय र दुःखदायी एवम् क्रूर आपराधिक घटना भएको भन्दै माफी दिने नमिल्ने जिकिर गरेकी छन्।

उनले सरकारले निर्माण गरेको माफी मिनाहसम्बन्धी कार्यविधिमा पनि माफी दिन नमिल्ने मुद्दाको रुपमा राखेकाले यसलाई माफी नदिनु भनि अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ। सरकारले सोमबार चौधरीलाई माफी दिँदै छ। सोमबार सार्वजनिक बिदा भएकाले मंगलबारमात्र रिट दर्ता वा दरपिठसम्बन्धी निर्णय हुने छ।

‘यो घटनालाई स्मरण गर्दा प्रत्येक नेपालीको शीर लाजले निहुरिन पुग्दछ। यस घटनाको दृश्यलाई पढ्दा प्रत्येकको आँखाबाट नुनिलो वर्षा हुन्छ,’ उनले निवेदनमा भनेकी छन्, ‘मृतकले नागरिकको रक्षा गर्ने कर्तव्य निर्वाह गर्दागर्दै भोग्नु परेको चरम यातनामय शारीरिक पीडा र मृत्युवरणको काल्पनिक अनुभूतिले मात्र पनि जो कोहीलाई एक पटक बेहोस बनाउँछ। मृतकका नजिकका मानिसहरूलाई कस्तो दर्द र पीडा बोध भयो होला त्यसलाई शब्दमा उतार्न शायदै सकिएला।’

यहाँ कमेन्ट गर्नुहोस्