भारतको नयाँ संसद भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा उद्घाटन

जेष्ठ १४ एजेन्सी___ भारतले नयाँ संसद भवन बनाएको छ। निर्माण सुरू भएको तीन वर्षमै चार तले भवन तयार भएको हो। यो भवनको डिजाइनदेखि निर्माणसम्मको सबै काम भारतीय कम्पनीहरूले गरेका हुन्। भवन त्रिकोणात्मक आकारमा बनेको छ। टाइम्स अफ इन्डियाका अनुसार नयाँ संसद भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेका छन्। भारतीय राष्ट्रिय कंग्रेस, आम आद्‍मी पार्टी, तृणमूल कंग्रेसलगायत १९ वटा विपक्षी दलले भने उद्घाटन बहिष्कार गरेका छन्।

संसद भवन उद्घाटन राष्ट्रपतिले गर्नुपर्नेमा प्रधानमन्त्री मोदी आफैंले गरेर राष्ट्रपतिमाथि अपमान गरिएको भन्दै उनीहरूले उद्घाटन समारोह बहिष्कार गरेका हुन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार नयाँ संसद भवन बनाउन ९७० करोड भारू खर्च भएको बताइएको छ। भारतको पुरानो संसद भवन झन्डै एक सय वर्ष पुरानो भएको छ। भारतमा बेलायती उपनिवेश हुँदा काउन्सिल हाउसका रूपमा बनाइएको उक्त भवनलाई भारत स्वतन्त्र भएपछि संसद भवनका रूपमा प्रयोग गरिएको थियो।

उक्त भवन पुरानो, साँघुरो र आधुनिक सुविधा नभएकाले नयाँ भवन आवश्यक ठानिएको थियो। पुरानो संसद भवनमा लोकसभामा ५५२ र राज्यसभा २५० सदस्य बस्न मिल्ने थियो। नयाँ भवनमा लोकसभाका ८८८ र राज्यसभाका ३८४ सदस्य बस्न मिल्ने बनाइएको छ।

Ncell

यहाँ कमेन्ट गर्नुहोस्