‘आइस रोड २: रोड टु द स्काइ’ भने नेपालको कथावस्तुमा निर्माण हुने

जेष्ठ १४ काठमाण्डौं ___ चर्चित हलिउड फिल्म ‘द आइस रोड’ को सिक्वेलको अन्तर्राष्ट्रिय प्रसारण तथा वितरण अधिकार अमेजन प्राइमले किन्ने भएको छ। अमेरिकी म्यागजिन ‘डेडलाइन’ का अनुसार निर्माण पक्षले भने हालसम्म यसबारे जानकारी दिएको छैन। त्यस्तै दुई पक्षबीच आधिकारिक सम्झौता पनि नभइसकेको डेडलाइनले लेखेको छ। तर दुई पक्षले यो सम्झौतामा एकदमै नजिक पुगिसकेको बताइएको छ। सिक्वेलको नाम ‘आइस रोड २: रोड टु द स्काइ’ हुनेछ।द आइस रोडमा हलिउड अभिनेता लियाम नीसनको मुख्य भूमिका छ।

सिक्वेलमा पनि उनकै भूमिका मुख्य हुनेछ। द आइस रोड सन् २०२१ मा नेटफ्लिक्सले रिलिज गरेको थियो। सिक्वेल फिल्म भने जर्मनीबाहेकका देशमा अमेजन प्राइमले वितरण गर्नेछ। यो फिल्म अमेजनले एक करोड ७० लाख डलर (करिब २ अर्ब २५ करोड रूपैयाँ) मा किन्ने भएको हो। हाल जारी कान्स फिल्म फेस्टिभलमा दुई पक्षबीच सम्झौता अघि बढेको बताइएको छ। कान्समा यसपालि भएका सम्झौतामध्ये यो सबभन्दा महँगो हुने डेडलाइनले लेखेको छ।एक्सन फिल्म द आइस रोडको कथा क्यानडाको एक हिरा खानीमा भएको विस्फोटमा केन्द्रित थियो।

‘आइस रोड २: रोड टु द स्काइ’ भने नेपालको कथावस्तुमा निर्माण हुने भएको छ।

लियाम नीसनले फिल्ममा आइस रोड ड्राइभरको भूमिका निर्वाह गरेका छन्। फिल्ममा उनी नेपाल भ्रमणमा आउनेछन्। उनको भाइ/दाइको अन्तिम इच्छा आफ्नो अस्तु सगरमाथामा विसर्जन होस् भन्ने हुन्छ। भाइ/दाइको इच्छा पूरा गर्दै उनको अन्तिम संस्कारका निम्ति लियाम सगरमाथासम्म पुग्नेछन्। यात्रा क्रममा उनले अनेक चुनौतीहरू भोगेको देखाइनेछ।

उनले आफू र निर्दोष स्थानीयहरूलाई गुन्डाहरूबाट जोगाउनुपर्ने अवस्था आउँछ हुन्छ। भाइ/दाइको अस्तु बोकेर सगरमाथासम्मको यात्रा र यस क्रममा आइपर्ने अप्ठ्यारा र द्वन्द्व नै फिल्मको मुख्य विषय हो। यो फिल्म सगरमाथा र नेपालका अन्य हिमाली तथा पहाडी भूभागमा छायांकन हुने र यसका लागि निर्माण टोली नेपाल आउने पनि बताइएको छ। द आइस रोड २: रोड टु द स्काइको निर्माण सन् २०२४ बाट सुरू हुनेछ।

यहाँ कमेन्ट गर्नुहोस्