जेष्ठ १२ काठमाडौं___ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको एजेन्डाबारे शुक्रबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । बैठकमा भ्रमणका क्रममा के–कस्ता एजेण्डालाई उठाउने भन्नेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार खासगरी भौतिक पूर्वाधार मन्त्रालय मातहतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्न भारत सरकारसँग आग्रह गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
भारत सरकारको सहयोगमा सन् २०११ देखि सो रेल वे ट्रयाक खोल्ने काम सुरु भएको थियो ।बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले उठाउने यसबाहेक अन्य केही महत्त्वपूर्ण एजेन्डाबारे पनि छलफल भएको ती मन्त्रीको भनाइ छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतदेखि २० गतेसम्म भारतको भ्रमण गर्ने तयारी गरेका छन् । भ्रमणको तयारीस्वरुप बिहीबार भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरसँग समेत भेटवार्ता गरेका थिए ।