जेष्ठ १२ काठमाडौं___राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन निर्माणमा जुटेको छ । विभिन्न पार्टीले विभिन्न तहका समिति निर्माण गर्दा सोही तहको भेला, बैठकले गर्ने गरेको भए पनि रास्वपाले त्योभन्दा फरक शैलीमा डिजिटल प्लेटफर्ममार्फत संगठन निर्माणमा जुटेको हो ।प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति गठनका लागि पार्टीले उम्मेदवारको प्रारम्भिक नामावली बिहीबार प्रकाशन गरेको छ । संगठन विस्तारका क्रममा रहेको रास्वपाले यसअघि नै निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन’bout जानकारी दिँदै निवेदन आह्वान गरेको थियो ।
प्राप्त निवेदनको आधारमा रास्वपाले प्रारम्भिक समितिको नामावली सार्वजनिक गर्दै सातै प्रदेशमा संगठन निर्माणका लागि जिम्मेवारी तोकेको छ । सातै प्रदेशमा एक समिति गठन गर्दै यस बाट प्राप्त उजुरीको अध्ययन, अनुसन्धान तथा विवादको निर्णय गर्ने अधिकारसमेत दिइएको छ ।समितिमा रहन पार्टीका सदस्यहरूबाट इच्छुकले १५ चैतसम्ममा आवेदन दिएको महामन्त्री एवं प्रवक्ता डा. मुलुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीको एपमार्फत आवेदन प्राप्त भएपछि एपमार्फत नै ती नामावली सार्वजनिक गरिएको हो ।
रास्वपाले नामावली सार्वजनिक गर्दै ११ जेठ बिहान १० बजेदेखि १२ जेठ साँझ ६ बजेसम्म दाबी विरोध तथा उम्मेदवारी फिर्ता गर्न सकिने समय दिइएको छ । यसका लागि सम्बन्धित प्रदेशको दाबी विरोध छानबिन समितिसँग सम्पर्क गर्नुपर्नेछ । १६ जेठ बिहान ७ बजेदेखि २० जेठ साँझ ७ बजेसम्म रास्वपाको मोबाइल एप (पार्टीको वेबसाइटमार्फत मतदान गर्न नमिल्ने)बाट मतदान गर्न सक्ने व्यवस्था पार्टीले गरेको छ । निर्वाचनको सम्पूर्ण परिणाम २० जेठमा पार्टीको मोबाइल एप र सामाजिक सञ्जालमार्फत प्रकाशन गर्ने रास्वपाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रदेश संगठन इन्चार्ज ज्ञानेन्द्र महताको संयोजकत्वमा प्रदेश समितिका सभापति प्रकाश विष्ट र प्रदेश महामन्त्री भोजराज जोशी सदस्य छन् । कर्णाली प्रदेशमा प्रदेश संगठन इन्चार्ज पवन देवकोटाको संयोजकत्वमा प्रदेश सभापति धीरजबहादुर वली र प्रदेश महामन्त्री चन्द्रकला विक सदस्य छन् । लुम्बिनी प्रदेशमा प्रदेश संगठन इन्चार्ज गणेश पौडेल संयोजक र प्रदेश सभापति देवराज पाठक, प्रदेश महामन्त्री नीजराज अधिकारी सदस्य तोकिएका छन् । गण्डकी प्रदेशमा प्रदेश संगठन इन्चार्ज झविलाल डुमे्र संयोजक र प्रदेश सभापति राजन गौतम, महामन्त्री अशोक खड्का सदस्य रहेका छन् ।
बाग्मती प्रदेशमा केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठ संयोजक र प्रदेश सभापति डा. अच्यूतम लामिछाने, प्रदेश महामन्त्री जिता बराल सदस्य रहेका छन् । मधेस प्रदेशमा केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठ संयोजक र प्रदेश सभापति तपेश्वर यादव, प्रदेश महामन्त्री मनीषकुमार साह सदस्य तोकिएका छन् । यसैगरी, कोसी प्रदेशमा प्रदेश संगठन इन्चार्ज ओम भण्डारी संयोजक र प्रदेश सभापति राजेश तिम्सिना, प्रदेश महामन्त्री लालविक्रम थापा सदस्य रहेको समिति गठन भएको छ ।