रेशम भन्छन्- म विचलित छैन, पुनरावलोकनको बाटो छ

जेष्ठ ३ काठमाडौँ___ नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पुनरावलोकनको बाटोबाट आफूले न्याय पाउनेमा विश्वस्त रहेको बताएका छन्। टीकापुर घटनाका आरोपी चौधरीसहित सातजनाविरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला मंगलबार सर्वोच्च अदालतले सदर गरेको छ। सोही विषयमा एक विज्ञप्ति जारी गर्दै चौधरीले सर्वोच्चको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताएका हुन्।

आज आफू रहेको डिल्लीबजार कारागारमा बोलाएर पार्टीका अन्य नेताहरूसँग छलफल समेत गरेका नेता चौधरीले पुनरावलोकनको बाटो खुला रहेको र अदालतले न्याय दिनेमा विश्वास रहेको बताए। ‘सम्मानित सर्वोच्च अदालतले गरेको फैसलामा‍ म प्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुल्ला छ। हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ साथै सम्मानित अदालतलाई सबैले उत्तिक्कै सम्मान गर्नुपर्दछ।

अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सन्जालमा जे पायो त्यही पोस्ट नगर्न हुन अनुरोध गर्दछु, ‘ नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्ज‍िता श्रेष्ठको फेसबुकमार्फत् उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ। हामी अझै न्यायिक पर्खाइमा छौँ! त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेकाे छु! म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु! स्वस्थ छु रतिभर मन बिचलित छैन, पुस्तक लेखिरहेको छु। केही दिनमा ‘धरातल’नामक पुस्तकको साथ तपाईंसमक्ष साक्षात हुनेछु।’

यहाँ कमेन्ट गर्नुहोस्