![](https://www.amurtaonline.com/wp-content/uploads/2021/06/thumb.jpg)
२० जेठ उदयपुर । कोरोना भाइरसबाट उदयपुरमा गएको साता एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोराको मृत्युको शोकमा रहेकै बेला बिहीबार बिहान ४ः२५ बजे रौतामाई गाउँपालिका ७ मुर्कुचीकी ७१ बर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृत्यु भएको परिवार श्रोतले जनाएको छ ।
दुई साताअघि कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आईसोलेसन वार्डमा राखी उपचार गरिएको आफन्तले जनाएको छ । सामान्य उपचारपछि विरामीको आग्रहमा उनलाई होमआइसोलेसनमा लगिएको थियो ।
यसअघि श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरमा उपचारका ेक्रममा दुई छोराको ज्यान गएको थियो । जेष्ठ १५ गते साईलो छोरा ४५ बर्षिय तुलबहादुर मश्राङ्गीको विराट मेडिकल कलेज र १८ गते जेठो छोरा ५० बर्षिय पुस्कल मश्राङ्गीको नोवेल शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
दुबैलाई आईसियुमा राखेर उपचार गर्दा गर्दै कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए । दुई साता अघि एकै पटक घरका तीन दाजुभाई र आमामा कोरोना पोजेटिभ देखिएपछि उनीहरु आँखा अस्पताल गाईघाटको आईसोलेसन वार्डमा उपचार गर्दै थिए । यो सँगै उदयपुरमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।