समीक्षा भन्छिन्- ‘देशमा साइबर अपराधको कानुन छ’

पौष २४ काठमाडौं___साइबर बुलीमा पर्ने कलाकारमध्ये पछिल्लो समय सबैभन्दा धेरै प्रभावित नाम हो समीक्षा अधिकारी । नियममा रहेर जाहेरी दिँदै गर्दादेखि मुद्धा अदालतसम्म पुगुञ्जेल पनि उनले सामाजिक सञ्जालमा सुन्नै नसकिने टिप्पणी सहिरहनु परेको छ । आफूलाई अन्याय पर्यो भनेर प्रहरी हुँदै न्यायालयसम्म पुग्ने उनको कदमलाई गलत सावित गर्न आधा नेपाली नै लागेको झैँ देखिन्छ । उनी मानसिक रुपमा विक्षिप्त बनेको उनले सामाजिक सञ्जालमा लेख्दै–मेट्दै गरेका पोस्टले स्पष्ट पारेका छन् ।

अहिले पनि उनले एक पोस्ट सार्वजनिक गरेकी छिन् । तर, पहिला झैँ यो उनको पोस्ट कति समयमा हट्ने हो टुंगो छैन । हट्नुअघि उनले असह्य गाली कति सहनु पर्ने, चरित्रमाथि औँला उठाउन कति आउने हुन्, त्यो पनि टुंगो छैन । तर, यसपटक भने उनले साइबर अपराधको बारेमा आफूलाई जानकारी भएको बताउँदै बुली नगर्न र अश्लिल कमेन्ट नगर्न घुमाउरो भाषामा धम्की दिएकी छिन् ।

उनी लेख्छिन्– ‘मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरु देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पंक्षीलाई केही बेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।’ आशा गरौं, अब भने समीक्षा मानसिक रुपमा पनि बलिग बन्दै गएकी छिन् ।

यहाँ कमेन्ट गर्नुहोस्