जयनगर–कुर्था रेलमार्गमा आजदेखि यात्रुबिनाको रेल सञ्चालन गरिने

फाल्गुन १ जनकपुरधाम___ जयनगर–कुर्था रेलमार्गमा आजदेखि रेल सञ्चालन गरिने भएको छ । तत्कालका लागि यात्रुबिनाको रेल चलाउन लागिएको हो । आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

रेलवे लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ । आजदेखि लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ । पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत निर्देशन दिइएको छ । अनुमतिबिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । गेट म्यान कर्मचारी आज बिहानैबाट काममा खटिने झाले बताए । ६० नेपाली र १४ भारतीय कर्मचारी आजदेखि काममा खटिनेछन् ।

१२ भारतीय कर्मचारी उद्घाटनपछि आउने बुझिएको छ । जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । एसी चलाएर आउँदा दैनिक २८० लिटर डिजल लाग्ने अनुमान गरिएको छ । ०७७ असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको थियो । अहिले रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्