स्थानीय तह निर्वाचन स्थानीय निर्वाचनबारे जानकारी दिन भोलिबाट दैनिक ‘प्रेस ब्रिफिङ’

माघ २९ काठमाडौं___ निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चारमाध्यमलाई जानकारी गराउने भएको छ।कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न ४ बजे प्रवक्ता-सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ। निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्बन्धित अन्य विषयमा आमसञ्चारमाध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले ‘प्रेस मिट’ गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए।

स्थानीय तहको निर्वाचन यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ।दैनिकरुपमा सञ्चारमाध्यममार्फत सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता-सञ्चारकर्मी भेटघाट राखिएको उनले बताए। दैनिकरुपमा हुने प्रेस मिटले निर्वाचन सम्बन्धमा आउनसक्ने भ्रमपूर्ण विषयवस्तुलाई चिर्नसमेत सहयोग पुग्ने आयोगको भनाइ छ।

दैनिक प्रेस ब्रिफिङबाट समयको सही उपयोगका साथै सूचना प्राप्त गर्ने विषयमा हुनसक्ने अलमल अन्त्य हुने आयोगले विश्वास लिएको छ। निर्वाचनसँग सम्बन्धित सबै समाचार र सूचना तोकिएको समयमा एकै स्थानबाट सहजरुपमा उपलब्ध हुने जनाउँदै आयोगले दैनिकरुपमा हुने प्रेस मिटमा उपस्थितिका लागि सबै सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गरेको छ। आयोगले प्रेस मिटसम्बन्धी सूचना वेबसाइटमा राख्ने जानकारीसमेत दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्