अनलाइन नक्सा पास र कित्ताकाट सम्बन्धी निर्देशिका मन्त्रिपरिषद्‌बाट स्वीकृत

माघ २५ काठमाडौं___ सरकारले अनलाइन नक्सा पास तथा कित्ताकाटलाई व्यवस्थित गर्नेगरी कार्यविधि ल्याएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले ‘डिजिटल प्रणालीमार्फत नाप नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८’ स्वीकृत गरेको हो । नापी विभागले गत वर्षदेखि जग्गा नाप जाँच तथा कित्ताकाटको काम अनलाइनबाट गर्दै आएको छ । हालसम्म यो सेवा देशका ११ नापी कार्यालयमा उपलब्ध छ ।

चालू आर्थिक वर्ष ०७८/७९ भित्र थप ४० कार्यालयमा यो सेवा उपलब्ध गराउने याेजना रहेको भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए । यसअघि नक्सा पास, कित्ता नापी तथा कित्ताकाट गर्ने तथा नक्साको प्रिन्ट लिने काम म्यानुअल रुपमा हुँदै आएको थियो । अर्थात् नक्सामा स्केल राखेर हातले कित्ताकाट गर्ने प्रचलन थियो । अब त्यस्ता सबै काम कम्प्युटर तथा सफ्‌टवेयरमा आधारित हुँदै गएका छन् ।

त्यस्तै सर्वसाधारणले समेत अनलाइनबाटै जग्गाकाे नक्सा लिन सकिने सुविधा पाएका छन् ।यस्तोमा नयाँ प्रविधिको व्यवस्थापन तथा कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालयले ‘डिजिटल प्रणालीमार्फत नाप नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८’ तयार पारेको हो । जसमा ‘मेरा कित्ता’ सञ्चालन, प्रयोगकर्ताले कसरी अप्लाई गर्ने, अप्लाई गर्दा आवश्यक कागजात र यसको व्यवस्थापन लगायतका विषय समेटिएकाे छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्