पौष ३० काठमाडौं___नेपाल राष्ट्र बैंकको पछिल्लो रिपोर्टले देशको वर्तमान आर्थिक अवस्था खराब रहेको देखाएको छ । आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनाको समग्र आर्थिक अवस्था विश्लेषण गरेको राष्ट्र बैंकको तथ्यांकमा आयातमा वृद्धि भएको, विप्रेषण घटेको, चालु खाता घाटामा रहेको, शोधनान्तर स्थिति समेत घाटामा रहेको उल्लेख गरिएको छ । यस्तै महँगी बढेको, पुँजीगत खर्चमा कमी आएको, राजश्व संकलनमा गिरावट आएको जस्ता तथ्य रिपोर्टमा देखिएको छ ।
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.११ प्रतिशत रहेको छ भने आयात ५९.५ प्रतिशतले र निर्यात १०५.६ प्रतिशतले बढेको छ । यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ७.३ प्रतिशतले घटेको छ ।
यसैगरी शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा हुँदा कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ३ करोड अमेरिकी डलर रहेको छ । यस्तै संघीय सरकारको खर्च रु.३८७ अर्ब ३ करोड र राजस्व परिचालन रु.४१२ अर्ब ४० करोड छ । राष्ट्र बैंकका अनुसार विस्तृत मुद्राप्रदाय १.३ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.९ प्रतिशतले बढेको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.७ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमाथिको दावी ११.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर ३०.१ प्रतिशत छ । देशको वर्तमन आर्थिक स्थितिबारेको यो संक्षित विवरण सहित लोकान्तर डटकमको नियमित बुलेटिन ‘लोकान्तर राउण्ड अप’ मा स्वागत छ ।
अब पछिल्लो २४ घण्टाको समाचार संक्षेपमाः
००००
पछिल्लो २४ घन्टामा मुलुकभर ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१५ हजार ८१ जनामा नमुना परीक्षण गर्दा आरटीजेन तथा पीसीआरबाट २ हजार ९ सय २२ जना र एन्टीजेनबाट ६ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै मुलुकभर पीसीआर परीक्षणमार्फत कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ४१ हजार २९७ र एन्टीजेनमार्फत पुष्टि हुनेको संख्या ९९ हजार २२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार जानकारी दिएको छ ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक गराएको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रधानमन्त्री निवासमा कार्यरत केही कर्मचारीमा कोरोना देखिएपछि देउवाले बिहीबार पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।यसअघि सोमबार पनि देउवाले कन्ट्याक्ट ट्रेसिङमा परेपछि पीसीआर गराएका थिए ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कोरोना महामारीको समयमा भएको चार्टर्ड उडानको अनियमितताका सम्बन्धमा छानबिन समिति गठन गरेका छन् । पर्यटनमन्त्री स्तरीय निर्णयबाट मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
००००
राष्ट्रिय जनमोर्चाले आगामी फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ । यसअघि पार्टीले आउँदो माघको १५ र १६ गते प्रदेश सम्मेलन तोकिएको थियो । पछिल्लो समय कोभिड–१९को नयाँ भेरियन्टको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण सातवटै प्रदेश सम्मेलन केही सातापछि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा भर्ना भएका स्वास्थ्य कर्मी तथा कर्मचारीहरूलाई माघदेखि ३ महिनासम्म समय थप्न सकिने जनाएको छ । स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए ।
००००
धादिङमा सुख्खा पहिरोले डोजर पुर्दा ३ जना बेपत्ता भएका छन् ।बिहीवार बिहान सुख्खा पहिरो आउँदा धादिङको रुबिभ्याली गाउँपालिकामा बाटो खनिरहेको डोजर पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
००००
बिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । एनबी बैंक सञ्चालक समितिको बिहीवार बसेको बैठकले नबिलसँग मर्जरमा जाने निर्णय गरेपछि दुवै बैंकले मर्जर सम्झौतामा हस्ताक्षर गर्न लागेका हुन् । बिहीबारै बसेको नबिल बैंकको सञ्चालक समितिले पनि नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने निर्णय गरेको नबिल बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अंकले उकालो लागेर २ हजार ८५७.७५ मा पुगेको छ ।