भारतमा कोभिड-१९ को सङ्क्रमण तीव्र,एकै दिन थपिए ९० हजार सङ्क्रमित

पौष २२ काठमाण्डौं ___ पछिल्लो २४ घण्टामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या ६ महीनायताको सबैभन्दा बढी हो। योसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन करोड ५१ लाख नौ हजार २८६ पुगेको छ। जसमध्ये तीन करोड ४३ लाख ४० हजार ८३० जना निको भइसकेका छन्। बिहीबार थपिएका सङ्क्रमितमध्ये ४९५ कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिलेसम्म भारतमा दुई हजार ६३० जनामा ओमिक्रोनको सङ्क्रमण देखिएको छ। ओमिक्रोन देखिएकामध्ये महाराष्ट्रमा ७९७, दिल्लीमा ४६५, राजस्थानमा २३६ र केरलमा २३४ जना सङ्क्रमित छन्। भारतमा ओमिक्रोनबाट बुधबार एक जनाको मृत्यु भएको थियो।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३२५ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या पनि चार लाख ८२ हजार ९२९ पुगेको छ।नेपालसँग सीमा जोडिएका राज्यमा पनि ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको छ। उत्तरप्रदेश, उत्तराखण्ड, बिहार लगायत एक दर्जन राज्यमा विशेष सतर्कता अपनाउन भारतको स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।

पछिल्लो पटक भारतको राजधानी दिल्लीमा कोरोनाको सङ्क्रमण तीव्र देखिएको छ। बिहीबार मात्रै १५ हजार ९७ जनामा सङ्क्रमण देखिएको छ। दिल्लीमा सङ्क्रमणदर १५.३४ प्रतिशत पुगेको राज्य सरकारले जनाएको छ।कोरोना सङ्क्रमण बढेपछि विद्यालय बन्द गरिएका छन् भने रात्रिकालीन कर्फ्यू लगाइएको छ। सार्वजनिक यातायातका साधनमा पनि कडाइ गर्न थालिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्