पौष १ वीरगंज____ वीरगंज उद्योग वाणिज्य सङ्घले पर्साका नवआगन्तुक प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत एवम् श्री चण्डी प्रसाद गणका गणपति मनोज कार्कीसँग भेटघाट तथा छलफल गरेको छ । वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यका क्रममा हालसम्म कायम रहेको शान्ति सुव्यवस्थालाई निरन्तरता दिने जिज्ञासा राख्नुभयो ।
अध्यक्ष गुप्ताले वीरगंज नगरभरि जडान गरिएको सिसिटिभी क्यामेराको मर्मत सम्भारको उचित व्यवस्थापनका लागि एउटा आईटी सम्बन्धी दक्ष जनशक्तिको दरबन्दीका लागि प्रहरी उपरीक्षक बस्नेतको ध्यानाकर्षण गराउनुभयो ।आदर्शनगरको पुरानो बसपार्क एरियामा धर्मशाला एवम् बैंक तथा वित्तीय संस्थाहरु बढी रहेकोले भिडभाड बढी हुने गरेको हुँदा सवारीसाधन व्यवस्थापनको लागि एउटा प्रहरी बिट स्थापना गर्न सङ्घका पूर्व अध्यक्ष अशोककुमार वैध र गणेशप्रसाद लाठले सुझाव दिनुभयो ।
प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न तथा आपराधिक गतिविधिलाई पूर्ण रुपमा निरुत्साहित तुल्याउने तर्फ आफूले प्रभावकारी भूमिका निर्वहन गर्ने बताउनुभयो । शान्ति सुरक्षा कायम राख्न निजीक्षेत्रका साथै सर्वसाधारणको समेत भूमिका अपरिहार्य रहेकोले सूचना संकलनमा सहयोगका लागि आग्रह गर्नुभयो ।
श्री चण्डी प्रसाद गणका गणपति मनोज कार्कीले वीउवासङ्घले गर्दै आएको सामाजिक कार्यहरु सराह्नीय रहेको बताउनुहुँदै यस्ता सामाजिक कार्यहरुमा सहकार्य गरी अघि बढ्न श्री चण्डी प्रसाद गण सदैव तत्पर रहने बताउनुभयो ।कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सङ्घका महासचिव मनोज दासले गर्नुभएको थियो । कार्यक्रममा सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।