मंसिर २३ काठमाडौं___ काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण बिहीबारदेखि राजधानीमा सुरु भएको छ । कोभिड–१९ महामारीको जोखिमले यसपटकको किम्फ हाइव्रिड शैलीमा आयोजना गरिएको हो । हिमाल एसोसियसनद्वारा आयोजित फेस्टिभल चलचित्र विकास बोर्डको अडिटोरियममा सुरु भएको हो । मंसिर २७ गतेसम्म चल्ने फेस्टिभलको उद्घाटन भारतको लद्दाखका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले किनोट स्पिचसहित गरे ।
डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट र एनिमेसन फिल्म गरी २८ मुलुकका ६० भन्दा बढी फिल्म अनलाइन र प्रत्यक्षरुपमा देखाइने भएको छ । विश्वभरदेखि दर्शकले सबै फिल्मलाई महोत्सव अवधीभर किम्फ फिल्म फेस्टिभलको पोर्टलमा हेर्न सक्नेछन् । यसपटक किम्फ फेस्टिभलको मुख्य थिम ‘क्लाइमेट कर्म’ राखिएको छ । यसपटक जलवायु परिवर्तनका असर चित्रण गरिएका फिल्म, लैंगिक समानता र सशक्तीकरणका सन्देश दिने फिल्महरु किम्फमा देखाइने भएको छ ।
फेस्टिभल शुभारम्भ काइली रुडिक निर्देशित १८ मिनेट लामो वृत्तचित्र ‘ड्रीम माउन्टेन’ प्रिमियरसँगै सुरु भयो । एक बच्चाकी आमा समेत रहेकी नेपाली महिला हिमाल आरोही पासाङ ल्हामु शेर्पाले गरेको संघर्षपूर्ण हिमाल आरोहणको कथा यसले भन्छ । ‘उत्साहपूर्ण प्रतिक्रियाले खुशि छु’ प्रिमियरपछि मिडियासँग आरोही शेर्पाले भनिन्, ‘यो फिल्मले दर्शकलाई जीवनप्रति आशावादी रहन र बाँच्न प्रेरणा दिन्छ ।’ प्रिमियरमा पनि उनी छोरासहित उपस्थित थिइन् ।यसपटकको किम्फमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी छन् भने १३ फिल्म नेपाल पानोरमार्फत प्रतिस्पर्धी छन् ।
हिमालय क्षेत्रलाई जोगाऔं : अभियन्ता वाङ्चुक
वातावरण अभियन्ता तथा प्रमुख अतिथि वाङ्चुक हिन्दूकुश हिमालय क्षेत्रमा देखिएको जलवायु असरप्रति गम्भीर सुनिए । आमिर खानको चर्चित बलिउड फिल्म थ्री इडियट्स वाङचुककै जीवनबाट प्रभावित छ । मानव सभ्यताको सबैभन्दा ठूलो खोजी प्रेम र सम्बन्ध रहेको चर्चा गर्दै उनले जलवायु परिवर्तनको असरप्रति गम्भीर बन्न सरकार र नागरिक दुबै गम्भीर बन्नुपर्ने बताए ।
‘सबै धर्मको मुख्य सार शान्ति र अहिंसा नै हो’ वाङचुकले भने, ‘कोरोनाभाइरस महामारीले हामीलाई मानव सभ्यताप्रति गम्भीर बन्न र सोच्न सिकाएको छ । यो यसरी नै हामी वातावरणप्रति सचेत हुनुपर्छ ।’ आफ्नो थलो लद्दाखको अनुभव सुनाउँदै उनले हिमनदी पुग्लिँदा पानीका स्रोतहरु सुक्दै जान थालेको र यस्तो समस्या नेपाली हिमालय क्षेत्रमा पनि सिर्जना भएको उनको भनाई थियो ।
हिन्दुकूश हिमालय क्षेत्रमा भारत, पाकिस्तान र चीनको सैनिक आवादी उच्च रहेको बताउँदै उनले यस्तो प्रवृत्तिले हिन्दूकूश हिमालय क्षेत्रमा गम्भिर वातावरणीय असर निम्ताएको बताए । ‘यो क्षेत्रमा सैनिक आवादी निकै बढाइएको छ । नागरिकले बरु सौर्य ऊर्जाको उपभोगमा जोड दिन्छन् तर, सैनिकले जीवाश्म इन्धन खपत गर्दा यसले हरितगृह ग्याँस उत्सर्जन गरिरहेका छन् । यसले अन्ततः हिमालय क्षेत्रलाई असर पारेको छ’ उनले भने ।
उनले डिफेन्स (प्रतिरक्षा)लाई सैनिक उपस्थिती र लगानीको रुपमा मात्र नबुझ्न आग्रह गरे । ‘मुख्य डिफेन्स भनेको जलवायु परिवर्तनलाई रोक्नु नै हो । यसतर्फ सरकारहरु केन्द्रित हुनुपर्छ’ उनले भने, ‘विश्वभर रक्षा बजेट २ ट्रिलियन डलर छ । यो बजेटलाई कटौती गरेर जलवायुमा लगानी बढाउनुपर्छ ।’ हरितगृह प्रतिरक्षा नै अबको युगको डिफेन्स भएको वाङचुकको भनाइ थियो ।
जलवायु परिवर्तनविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्न फिल्म सुन्दर सिर्जना भएको उनको भनाई थियो । उनको किनोटको निष्कर्ष थियो –रिडिफाइन ।’ उनले सोच र काम गराइको पुनर्संरचना नगरिए पृथ्वीलाई जोगाउन मुस्किल पर्ने चेतावनी दिए । काठमाडौं आउँदा घर फर्किएजस्तो महसुस भएको बताउँदै उनले आफूलाई साथीहरुले ५० प्रतिशत भारतीय र सतप्रतिशत नेपाली भनेर जिस्काउने गरेको अनुभव सुनाए ।
यसपटक नेपाली अभिनेता एवं निर्देशक अनुप बराल, स्वीस फिल्ममेकर क्यारोलाइन फिंक र मारियो कासेला निर्णायकको रुपमा छन् । ‘मैले निर्णायकको रुपमा जतिपनि फिल्म हेरेँ, यी फिल्म मात्र होइनन बरु अद्भूत फिल्म हुन्’ बरालले कार्यक्रममा भने, ‘यी फिल्मले हामीलाई आफूभित्र फर्किएर हेर्न सिकाउँछन् र प्रश्नहरुको सामना गर्न सिकाउँछन् ।’
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जलवायु परिवर्तनको असर नेपालजस्ता कम विकसित मुलुकले भोगिरहेको बताउँदै फिल्ममार्फत यस’bout सन्देश दिन फेस्टिभलको योगदान महत्वपूर्ण हुने बताए । युरोपेली आयोगकी राजदूत नोना डेप्रेजले जलवायु संकटविरुद्ध लड्न ईयूले नेपाललाई सहायताको प्रतिबद्धता जनाएको बताइन् । संस्कृतिले मानिसलाई जोड्ने बताउँदै राजदूत डेप्रेजले हरित विकासमा नेपालले ध्यान दिनुपर्ने र यसतर्फ ईयूले सघाउने बताइन् ।
आयोजक संस्था हिमाल एसोसिएसनका अध्यक्ष बसन्त थापाले जलवायु परिवर्तन यतिबेला विश्वको वास्तविक चुनौति रहेकाले यसपटकको फेस्टिभल नै जलवायुमा केन्द्रित रहेको बताए । कोभिड–१९ महामारीको जोखिम कायमै भएकाले हाइव्रिड शैलीमा फेस्टिभल गर्नुपरेको बताउँदै उनले त्यसको बाबजुद पनि भएको दर्शकीय उपस्थितीले आफूहरुलाई हौसला थपेको बताए ।
फेस्टिभल निर्देशक रम्यता लिम्बुले मानिसहरु वातावरणसँग कसरी सम्बन्धित छन् र स्थानीय तथा विश्वव्यापीरुपमा भैरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई कसरी कम गर्न सकिन्छ भनेर सन्देश दिनु फेस्टिभलको उद्देश्य रहेको बताइन् ।
अन्य आकर्षण कस्ता छन् ?
यस पटकको संस्करणमा किम्फ र युरोपेली संघद्वारा नेपाली फिल्म निर्माताका लागि ग्रीन ग्रोथ–ग्रीन रिकभरी शीर्षकमा छोटा फिल्मको प्रतिस्पर्धा पनि गरिने भएको छ ।
किम्फ र सेभ द चिल्ड्रेनले वातावरणका लागि कल टू एक्सनमा टीकटक च्यालेन्ज प्रस्तुत गर्नेछन् भने नेपाली फिल्ममेकरले बनाएका फिल्महरु नेपाली पानोरमामा हेर्न पाइनेछ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख रुपैयाँ, द्धितीय हुनेलाई डेढलाख र तृतीय हुनेलाई १ लाख रुपैयाँ नगद दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार नगद र उत्कृष्ट आख्यानात्मक फिल्मले १ लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट माउन्टेन फिल्मले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।
अमेरिकाकी फोटोग्राफर सिरा क्रोवेलद्वारा मास्टर क्लास प्रस्तुत हुनेछ । नेपालमा मेरो खोज यात्रा नामक स्विस भूवैज्ञानिक टोनी हेगनको बिल्डिङ ब्रिजज टु द थर्ड वल्र्डको नेपाली अनुवाद तथा सस्टेनेबल समिट्स–क्लाइमेट सोलुसन्स फ्रम द टप अफ दी वल्र्ड लगायत फिल्म स्क्रिनिङ हुने जनाइएको छ ।
किम्फमा ब्रेकिङ कोड रेड– डिग्निटी विथ डेन्जर शीर्षकमा नेपालमा महिनावारीको अभ्यास र कोपिङ विथ क्लाइमेट कर्म शीर्षकमा वातावरणसम्बन्धी संवाद र छलफल पनि प्रस्तुत हुने जनाइएको छ ।
महोत्सव अन्तर्गत नेपाल पर्यटन बोर्डमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले सिरा क्रोवेलको पर्वतीय फोटोग्राफी तथा हिउँ चितुवाका फोटाहरु प्रस्तुत गर्ने भएको छ । क्लाइमेट कर्म विषयक पोस्टर प्रदर्शनी समेत हुने भएको छ ।